पाल्पा । २६ जेठ
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले पालिकाका ७१ जना कृषकलाई मिनी टिलर (हाते ट्र्याक्टर) वितरण गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष ०७८।७९ को कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिएको गाउँपालिका कृषि शाखा प्रमुख सुनिता पोखरेलले बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले रैनादेबी छहरालाई आधुनिक कृषि प्रणालीको माध्यमबाट समृद्ध बनाउने बताउनुभयो । परम्परागत कृषि प्रणालीलाई आधुनिकिकरण गर्ने र गाउँपालिकालाई कृषि हवको रूपमा विकास गरिने गाउँपालिका अध्यक्ष भट्टराईले उल्लेख गर्नुभयो । पालिकाका अधिकाश नागरिकहरू कृषि प्रणालीमा जोडिएको तर परम्परागत निर्वाहमुखी कृषि प्रणालीका कारण नागरिकहरूको जीवनस्तरमा सुधार नभएको बताउदै गाउँपालिकाले कृषिलाई आधुनिक प्रविधि,यन्त्र उपकरणको माध्यमबाट गाउँपालिकाको कृषि प्रणालीमा सुधार गरि समृद्ध रैनादेबी बनाउने बताउनुभयो ।


मिनिटिलर वितरण गर्दै अध्यक्ष भट्टराईले वितरित मेसिन औजारहरूको प्रयोग गरि बाझो जमिनको प्रचुल मात्रामा प्रयोग गर्न आर्गह गर्नुभएको छ । पछिल्लो समयमा जग्गा जमिन बाझो हुने समस्या रहेको बताउदै आगामी दिनमा गाउँपालिकाले कृषि प्रणालीमा परिवर्तन ल्याउने कार्यक्रम ल्याउने बताउदै कृषकहरूले जग्गा जमिनको उचित प्रयोग गरि कृषि कर्ममा जोडिन आर्गह गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले गाउँपालिकाले कृषिलाई आधुनिकिकरण गरि कृषकहरूको जीवनस्तरमा सुधार गर्ने योजनाका साथ गाउँपालिका अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत राजिव पन्थीले रैनादेबी छहरा गाउँपालिकाले समग्र पालिकाको कृषि प्रणालीलाई परम्परागत रूपबाट आधुनिकरण गर्ने कार्य गरेको बताउनुभयो । विगतको स्थानीय सरकारले पालिकाको कृषि प्रणालीलाई व्यवसायीकता तर्फ उन्मुख गराएको बताउदै आगामी दिनको नीति तथा कार्यक्रम समावेश गरि समग्र पालिकाको कृषि प्रणालीलाई आधुनिकिकरण गर्ने गरि योजना तर्जुमा गरिने बताउनुभयो ।