तानसेन नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनको विकासमा कुनै पनि पूर्वाग्रह नराखी काम गर्ने बताउनुभएको छ । बिहीबार पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले विकास र सेवा प्रवाहका काममा पूर्वाग्रह नराख्ने बताउदै आफु पाँच वर्षका लागि जनताको सेवक बन्न आएको भन्दै कुनै पनि पक्ष, विपक्ष बनाएर काम नगर्ने उल्लेख गर्नुभयो ।

नगरप्रमुख श्रेष्ठले सन्तुलित विकासको अवधारणालाई आत्मसाथ गर्दै यहाँको विकास र विस्तारमा आफ्नो ध्येय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी नीति तथा कार्यक्रममा दीर्घकालीन, अल्पकालीन र मध्यकालिन योजना बनाएर आफु अगाडि बढ्ने प्रण गरेको बताउदै तानसेनको समस्यालाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । यहाँको मुख्य समस्याका रुपमा रहेको खानेपानी वितरण, सडक र विद्युत रहेकाले त्यसमा गम्भीर भएर लाग्नेछु ।’ तानसेन पर्यटकीय र शिक्षाको रुपमा सम्भावना भएकाले त्यसतर्फ पनि आफ्नो ध्यान जाने उहाँको भनाई थियो । तानसेनका प्रत्येक वडामा खेलमैदान निर्माण गर्ने, पार्किङ्गलाई व्यवस्थित गर्ने, माडीफाँटमा रहेको बाँझो जग्गालाई उपयोग गरी उत्पादनसँग जोड्ने, सिद्धबाबा सडक निर्माणमा पहल गर्ने योजना आफ्नो रहेको नगर प्रमुख श्रेष्ठको भनाई छ । विगतमा जस्तो तानसेनका जनताको घर फत्काउने र सडक चौडा बनाउने भन्ने विषयमा आफ्नो कत्ति पनि ध्यान नजाने बताउदै नगर प्रमुख श्रेष्ठले भएको वस्तीलाई नै व्यवस्थित गरेर यहाँको विकास गरिने बताउनुभयो ।


नगर प्रमुख श्रेष्ठले तानसेनको विकासमा नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने समेत बताए । कार्यक्रममा नवर्निवाचित उप प्रमुख प्रतिक्षा सिंजालीले तानसेनको आवश्यकता र समस्याको पहिचान गरेर नीति तथा कार्यक्रम ल्याईने बताइन् । उनले जनताको मतलाई सहि ठाउँमा प्रयोग गरि काम गर्ने उद्घोष गरिन् । उनले भनिन् ‘हिजो जुन दलबाट निर्वाचित भएर आएपनि अब भने सबैको साझा बनेर काम गर्छौ, हामी दल र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको सेवामा समर्पित भएर काम गर्छौं ।’ कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले तानसेनको खस्कदो व्यापार, व्यवसायमा ध्यान दिन नयाँ नेतृत्वलाई आग्रह गरे ।

संघका उद्योग उपाध्यक्ष भीमबहादुर श्रेष्ठले नगर सरकारको नेतृत्व गर्ने व्यक्ति निजी क्षेत्रसँग आवद्ध भएका कारण पनि निजी क्षेत्रको समस्या बुझ्नेमा विश्वास उद्योगी व्यवसायी विस्वस्त रहेको बताउनुभयो । संघका निवर्तमान अध्यक्ष मोहन प्रसाद श्रेष्ठले तानसेनको विकास नभएसम्म अन्य स्थानीय तहको विकास सम्भव रहेको भन्दै तानसेनको विकासमा नगर सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहे पनि स्थानीय सरकारबाट प्रताडित हुनु परेको गुनासो गर्दै, श्रेष्ठले आगामी दिनमा नीजि क्षेत्रसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्न नगर सरकारलाई आग्रह गर्नुभयो। नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले नगरको आवश्यकता र समस्यालाईलाई प्रथामिकतामा राखेर नगर सरकारले काम गर्नुपर्ने बताउदै, तानसेनको विकासमा पाल्पा उद्योग वाणिज्य संघको पनि महत्वपूर्ण भूमिका रहेकाले संघ र नगर सरकार सहकार्य गरे अगाडि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष मधुदैयाल सैजु, होटल व्यवसायी लक्ष्मण बस्याल, नित्यानन्द बस्याल, राजीव शाक्य, बालकृष्ण बस्याल लगायतले तानसेनको खानेपानी, पर्यटन र सडक स्तरन्नोतिमा ध्यान दिन नगर सरकारको नयाँ नेतृत्वलाई आग्रह गरे । संघले स्थानीय तहमा निर्वाचित संघमा आवद्ध जनप्रतिनिधिहरुलाई स्वागतसँगै सम्मान गरेको छ । संघका अध्यक्ष राजु महर्जनको अध्यक्षता, महासचिव शैलेन्द्र भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।