सुमन गैरे
पाल्पा । २४ । बैशाख ।
बगनासकालीको वडा नं. ९ चापपानीमा गठबन्धन दलहरुको घरदैलो कार्यक्रममा स्थानीयहरु उत्साहित भएका छन् । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालको वडाको रुपमा रहेको चापपानीमा गठबन्धन दलहरुको घरदैलोमा यहाँका अधिकांश स्थानीयहरु सहभागिता भएका थिए ।
घरदैलो कार्यक्रममा चापपानीका विभिन्न टोल र बस्तीहरुमा घरदैलो गर्दै चुनावी कार्यक्रम गरिएको थियो । कार्यक्रममा बगनासकाली गाउपालिकाका अध्यक्ष पदका उमेदवार नेपाली कांग्रेसबाट सुनिता अधिकारी र उपाध्यक्ष पदका उमेदवार एकिकृत समाजवादीको तर्फबाट खिमानन्द पाण्डे (कमल)ले चुनावी कार्यक्रममा संवोधन गर्दै कृष्ण बस्यालले कोरेको विकासको रेखालाई पूर्णता दिने प्रतिवद्धता जनाउनुभएको थियो । अध्यक्षका उमेदवार सुनिता अधिकारीले बगनासकाली गाउँपालिकालाई नेपालमै नमुना पालिका बनाउने प्रतिवद्धता जनाउदै यहाँको शिक्षा, स्वास्थ्य, रोजगार पर्यटनलाई जोड दिने मतदाता समक्ष प्रतिवद्धता राख्नुभएको थियो । उपाध्यक्षका उमेदवार खिमानन्द पाण्डेले बगनासकाली धार्मिक पर्यटनको सम्भावनाको खानी भएकोले यसको विकासमा जोड दिने बताउनुभएको थियो ।
बगनासकाली गाउँपालिकामै नेपाली कांग्रेसको गढको रुपमा परिचय बनाएको चापपानीमा कृष्ण बस्यालको नेतृत्वको स्थानीय सरकारले उल्लेख्य कामहरु गरेका कारण यहाँका स्थानीयहरुमा उत्साह थपिएको वडा अध्यक्षका उमेदवार ठानेश्वर तिमिल्सेनाले बताउनुभयो । तिमिल्सेनाका अनुसार गएको स्थानीय तह निर्वाचनमा चापपानीका जनताको मत अनुसार नै ५ वर्षे कार्यकालमा विकास निर्माण गरिएको कारण यहाँका स्थानीयहरुमा उत्साहमा कमी नआएको तिमिल्सेनाको भनाई छ ।