पाल्पा । बगनासकाली गाउँपालिकाका लागि नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो तथा टोल टोलमा कोणसभा गरेका छन् । उम्मेदवारहरुले हरेक दिन फरक फरक वडामा चुनावी अभियान गर्दै आएका छन् । गाउपालिकाका ९ वटै वडाहरुमा कोणसभा तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

मतदाताहरु सामु आफ्नो प्रतिबद्धता प्रस्तुत गर्दै अध्यक्षका उम्मेद्वार सरस्वती चिदीले मतदाताहरुकै बिश्वासका कारण आफुले ५ वर्षसम्म उपाध्यक्षको जिम्मेवारी पुरा गरेको र उपाध्यक्ष रहँदा चाहदा चाहँदै पनि पुरा गर्न नसकेका बिभिन्न योजनाहरुलाई अध्यक्षमा निर्वाचित भइसकेपछि पुरा गर्ने बताउनुभयो ।
उहाँले चुस्त रुपमा गाउँपालिका तथा मातहतका कार्यालयहरुको सञ्चालन, युवा स्वरोजगारी, कृषि पशुका कार्यक्रमहरुलाई प्राथमिकता दिने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी सहित खानेपानी, मोटरबाटो, सिंचाई लगायतका बिकासका लागि आफु लागिपर्ने बताउँदै यसका लागि मतदाताहरुले आफुलाई निर्वाचित गराउने बिश्वास ब्यक्त गर्नुभयो ।

उपाध्यक्षका उम्मेद्वार हरिप्रसाद पाठकले बर्षात्का हिलो र हिउँदमा धुलाम्मे हुने सडकहरुको उचित स्तरोन्नती, सेवाग्राही मैत्री सेवा प्रवन्ध गराउनेमा आफु लागिपर्ने बताउनुभयो । उहाँले गरिव तथा बिपन्न समुदायका लागि लक्षित बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना समेत एमालेले आफ्नो प्रतिबद्धतामा राखेको र निर्वाचित भइसकेपछि प्रतिबद्धता अनुसार काम गर्ने बताउनुभयो ।

घरदैलोमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य ठाकुर गैरे, नेताहरु देवी प्रसाद बस्याल, मोहन थापा लगायतले एमालेलाई जिताउन अनुरोध गर्दै, गठबन्धन भएपनि एमालेको साथमा जनता भएकोले जीत सुनिश्चत हुने उल्लेख गर्नुभयो ।