स्वास्थ्य संस्थाहरुको स्तोरन्नती, व्यवसायिक कृषि र प्राविधिक शिक्षामा जोड दिने

पाल्पा । २१ । बैषाख ।
आसन्न स्थानीय तहको निर्वाचन २०७९ मा विभिन्न उमेद्वार तथा राजनीतिक दलहरुले चुनावी घोषणा पत्र तथा प्रतिवद्धता पत्रहरु सार्वजनिक गर्दै आएका छन् । बगनासकाली गाउँपालिकामा नेकपा एमालेको तर्फबाट उमेदवारहरुले पनि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उमेदवार सरस्वती चिदी र उपाध्यक्ष पदका उमेदवार हरि प्रसाद पाठकले सम्युक्त प्रतिवद्धता पत्र जारी गर्दै समृद्ध बगनासकाली बनाउने उल्लेख गर्नुभएको छ । प्रतिवद्धता पत्रमा भनिएको छ, भष्ट्राचारमुक्त र सुशासन युक्त गाउँपालिका बनाउने, आवधिक योजनाहरु निर्माण गरी कार्यान्वयन गर्ने, योजना तथा कार्यक्रमहरुमा सरोकारवालाहरुको सहभागिता सुनिश्चत गर्ने ।
बगनासकाली गाउँपालिकाका अध्यक्ष पदका उमेदवार सरस्वती चिदीले अवको ५ वर्षको अवधीमा कृषि, शिक्षा तथा पर्यटन प्रवद्र्धनमा आफ्नो नेतृत्वले काम गर्ने उल्लेख गर्नुभयो । पाल्पापाटीसंगको कुराकानीमा चिदीले स्वास्थ्य संस्थाहरुको स्तोरन्नती, व्यवसायिक कृषि र प्राविधिक शिक्षामा जोड दिने बताउनुभयो ।
उपाध्यक्ष पदका उमेदवार हरि प्रसाद पाठकले बन्यजन्तुको हैरानी खेपेका जनतालाई बाँदर नियन्त्रणको ठोस योजना ल्याउने बताउनुभयो । पाठकले सडक विस्तार र स्तोरन्नती, विद्युत, खानेपानी महसुल अनुदान लगायतका कार्यक्रमहरु प्रतिवद्धता पत्रमा समेटिएको बताउदै, दिगो विकासको योजनालाई अघि सारिएको उल्लेख गर्नुभयो ।