विष्णु घिमिरे
पाल्पा । १४ बैशाख ।
आगामी बैशाख ३० मा स्थानीय तहको निर्वाचन हुदैछ । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकामा अध्यक्ष पदमा ४ महिला नेतृत्वको प्रतिष्प्रधा हुदैछ । जसमा नेपाली कांग्रेसको तर्फबाट सुनिता अधिकारी चुनावी मैदानमा हुनुहुन्छ । सुनिता अधिकारी संग बगनासकालीको विकास रसमृद्धिको लागि कस्ता एजेण्डा छन् भन्ने विषयमा हाम्रा सम्पादक विष्णु घिमिरेले गर्नुभएको कुराकानीका केही अंशहरु यहा प्रस्तुत गरेका छौं ।

बगनासकाली गाउँपालिकाको अध्यक्षमा उमेदवार हुनुभएको छ ? तपाइको उमेदवारी किन ?
धन्यवाद । विष्णु जी । बगनासकाली गाउँपालिका जिल्ला सदरमुकाम संग जोडिएको पालिका हो । यहाँ अथाह सम्भावनाहरु छन् । कृषिका लागि उर्भर भूमी छ । पर्यटनका लागि प्रचुर सम्भावना छ । वास्तवमा बगनासकालीका जनताको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन र विकास यहिबाट सम्भव छ । मेरो उमेदवारी यहाँको जनताको आर्थिक, सामाजिक र सांस्कृतिक स्तर उकास्नका लागि हो ।

बगनासकालीको विकासका लागि तपाइका एजेण्डा कस्ता छन् ?
स्थानीय सरकार गठन पछाडिको यो दोश्रो निर्वाचन हो । यस अघि कृष्ण बस्याल ज्यूको नेतृत्वमा भएको बगनासकालीले धेरै कुरामा फड्को मारेको छ । पहिलो स्थानीय सरकार थियो, ऐन, नीति, नियम, कानुन बनेका थिएनन् । ती नीति, नियम र कानुन निर्माण भएका छन् । विकासको रुपरेखा कोरिएको छ । अव मेरो एजेण्डा भनेको तिनी कोरिएका रुपरेखालाई पूर्ण गर्ने हो । बाटाहरु खोलिएका छन् स्तोरन्नती गर्नुछ, वालमैत्री स्थानीय शासनलाई कायम गर्नुछ, जनताको जिवनस्तर उकास्न कृषिमा क्रान्ति गर्नुछ, स्वास्थ्य क्षेत्रलाई उकास्नुपर्ने छ, शिक्षामा सबैको पँहुच र समानता ल्याउनुछ, करिव ६० प्रतिशत घरहरुमा एक घर एक धारा खानेपानी पुगेको छ, वाँकी घरहरुमा एक घर एक धारा बनाउनुछ ।
समग्रमा भन्दा बगनासकालीको अहिलेको विकासको गतीलाई अझ फराकिलो बनाउदै जनताको जिवनस्तर उकास्नेगरी काम गर्ने मेरा एजेण्डा छन् । संघिय सरकारले बजेट देला र हामीले परिचालन गरौला भन्ने भन्दा पनि यहाँको आन्तरिक आम्दानीलाई बृद्धी गर्दै, अन्य श्रोतहरुबाट समेत वजेट ल्याएर विकास गर्ने मेरो दृढ संकल्प छ ।

जनतालाई हाम्रो सरकार भन्ने महसुस गराउन सक्नुहुन्छ ?
पक्कै पनि विष्णु जि, चुनावका बेला कुनै एउटा राजनीतिक दलबाट उमेदवारी दिने कुरा स्वभाविक नै हो । चुनाव पछि समग्र जनताको हक, हित र विकासका लागि काम गर्छु । मैले जनताले हाम्रो सरकार भनेर विश्वास गर्ने वातावरण बनाउछु । जनतालाई सरकार हुनुको महसुस गराउछु । जनताका हरेक दुःख, सुखमा साथ दिने प्रण गरेकी छु । वास्तवमा हामीले एउटा सच्चा जनप्रतिनिधिको भुमिका निभाउने हो भने र वजेटलाई सहि सदुपयोग र परिचालन गर्न सक्ने हो भने बगनासकाली त्यती ठूलो र भौगोलिक जटिलता नभएको पालिका भएको कारण विकास गर्न समय लाग्दैन् । ५ वर्षमा धेरै आमूल परिवर्तन गर्न सकिन्छ भन्ने लागेको छ ।