पाल्पा, वैशाख १४

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पाल्पामा काँग्रेस सहितको गठबन्धनले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । गठबन्धनले आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरुको घर–घरमा पुग्ने कार्यलाई तिव्रता दिएका हुन् ।

जिल्लाका दश वटै स्थानीय तहमा नेपाली काँग्रस सहितको गठबन्धनका उम्मेदवारहरुले विगतको चुनावी समिक्षा गर्दैै मतदाताहरुसमक्ष मत मागेका छन् । उनीहरुले आफुले गर्न सकेका र नसकेका कुराहरु जनता समक्ष प्रष्ट राख्दै आगामी योजना र कार्यक्रमका विषयमा समेत जानकारी गराएका छन् ।

गठबन्धनले तानसेनमा समत तालिका नै बनाएर घरदैलो कार्यक्रम अगाडि बढाएको छ । १४ वटा वडा रहेको तानसेनमा गठबन्धनले १३ गतेदेखि प्रचार–प्रसार कार्यालयको उद्घाटन गरी घरदैलो अभियानलाई तिव्रता दिएको छ । वडा नं २ बाट घर दैलो अभियान शुभारम्भ गरेको गठबन्धनले १४ गते वडा नं. ३ को बसन्तपुर, १५ गते वडा नं ५ को कैलाश नगर,१६ गते वडा नं. १ को गैरागाउ,१७ गते वडा नं. ४ र ६ मा मखनटोल र भिमसेनटोलमा,१८ गते वडा नं. ६ को कुन्सरे,१९ गते वडा नं. १३ को केरवादी,गुम्बा,छेर्लुङ्ग,२० गते वडा न १२ को बौघापोखराथोक,२१ गते वडा न ११ को सम्मोवारी र बडहरबोट,२२ गते वडा न १४ अर्गली,२३ गते वडा न ७ को बासटारी,२४ गते वडा न ८ मदनपोखरा,२५ गते वडा न ९ को दमकडा र २६ गते वडा न १० को तेल्घामा घरदैलो कार्यक्रम गरिने नेपाली काँग्रेस तानसेन नगरसमितिका अध्यक्ष सुवर्ण मुनि शाक्यले बताए । तानसेनमा गठबन्धनबाट नगर प्रमुखको लागि नेपाली काँग्रेसका उम्मेदवार सन्तोष लाल श्रेष्ठ, उपमेयरमा माओवादी केन्द्रकी प्रतिक्षा सिङ्जालीले उम्मेदवारी दिएका छन् । यस्तै जिल्लाको माथागढी गाउँपालिका र रामपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरु घरदैलोमा पुगेका छन् । तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिकार रामपुर नगरपालिका र रम्भा गाउँपालिकामा पनि गठबन्धनका उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।