नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जिल्लाका १० पालिकाहरू मध्ये दुइ वटा पालिका बाहेकमा सहमति भएको बताउनुभएको छ । सभापति श्रेष्ठले बुधबार साँझसम्ममा सबै टुंगो लाग्ने बताउदै तिनाउँ र रम्भा गाउँपालिका बाहेकका अन्य पालिकाहरूमा गठबन्धनमा कसले कहाँ उम्मेदवार चयन गर्ने टुंगिएको बताउनुभएको छ ।

नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले क्षेत्र नं। २ को कार्यालयको उद्घाटन गर्दै पाल्पामा पालिका प्रमुख र उपप्रमुखको जिल्लागत रुपमा र अन्य स्थानीय तहले नै समन्वय गरि गठबन्धन गर्ने गरि कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो।

नेपाली कांग्रेस पाल्पा क्षेत्र नं। २ को कार्यालय लहरेपिपलमा स्थापना गरिएको छ । क्षेत्रीय कार्यालयको उद्घाटन गर्दै सभापति श्रेष्ठले नेताहरुले पदीय जिम्मेवारी पुरा गरे काँग्रेसकोे स्थानीय तहमा जीत सुनिश्चित हुने बताउनुभयो। चुनाव वा अधिवेशनका समयमा मात्र कार्यालय खोल्नुभन्दा पनि संस्थागत विकास हुने गरि कार्यालय व्यवस्थापन गर्न र अभिलेखीकरण गर्न ध्यान दिनुपर्ने सभापति श्रेष्ठको भनाई थियो ।

लहरेपिपल, तानसेन पाल्पामा नेपाली कांग्रेस क्षेत्र न। २ ले कार्यालय खोलेको हो । कार्यक्रममा क्षेत्रीय सभापति मुक्तिराम जिसीले कार्यालयलाई व्यवस्थित बनाई क्षेत्रीय सम्पूर्ण गतिविधि सञ्चालन गरिने जानकारी दिनुभयो । कार्यक्रम क्षेत्रीय उपसभापति लक्ष्मीप्रसाद अधिकारीको स्वागत र सचिव कृष्ण आलेको सञ्चालनमा सम्पन्न भएको थियो ।