आजभोलि परिवर्तन मान्छेलाई छिटो छिटो चाहिएको अवस्था पनि पाइन्छ । सेवाप्रदायी र सेवाग्राही दुबैले सुधारका लागि पर्यत्न गरेको खण्डमा अपेक्षित लक्ष हासिल गर्न कुनै अप्ठेरो पर्दैन । सीप, स्रोत र साधनको समुचित प्रयोग गरेर सार्वजनिक सेवालाई सहज ढंगले प्रवाह गर्ने र सेवाग्राहीले पनि सकारात्मक सोंचका साथ ग्रहण गर्दै सुधारका लागि सहयोग गर्नु नै समृद्धिको एउटा मूख्य पाटो मान्न सकिन्छ ।

 

सार्वजनिक सेवा
सरकार र राज्यले आफ्ना नागरिकहरूलाई निशुल्क वा सशुल्क वा अन्य कुनै प्रकारले उपलब्ध गराउने सेवा सुविधालाई सार्वजनिक सेवा भनिन्छ । जनतालाई अधिकतम सेवा दिनु आधुनिक राज्य व्यवस्थाको प्रमुख उद्देश्य हो । राज्यद्वारा प्रवाहित सेवा नागरिकको रोजाई, आवश्यकता, प्राथमिकता र राज्यको क्षमतामा भर पर्दछ । सेवाप्रवाहको पद्धति देशको भौगोलिक स्थिति, आर्थिक, सामाजिक र राजनैतिक परिवेशबाट निर्देशित हुन्छ । यस्तो सेवाको दायरा व्यापक हुनुका साथै प्रत्यक्ष वा अप्रत्यक्ष प्रकारको हुन्छ । नागरिकले सुपथ, सुलभ र समय सापेक्ष यथेष्ट सेवा पाउनु नै सार्वजनिक सेवाप्रवाहको मुख्य उद्देश्य हुन्छ । सरकारले विभिन्न तवरले सार्वजनिक सेवाको व्यवस्थापन गर्न सक्दछ ।

सार्वजनिक सेवाप्रवाह
राज्यले जनताको हितका लागि प्रदान गर्ने सार्वजनिक सेवालाई सेवाग्राहीसम्म पु¥याउने प्रक्रिया र पद्धति नै सार्वजनिक सेवाप्रवाह हो । सेवाप्रवाहले सेवा सिर्जना हुने कुरादेखि सेवाग्राहीले सेवा प्राप्त गर्ने र सो सेवा सहज रुपमा उपयोग गर्ने कुरासम्म समेट्छ । राज्यले नागरिकलाई उपलब्ध गराउने सार्वजनिक सेवा छिटो, मितव्ययी, उचित समय र स्थानमा उपलब्ध गराउने प्रकृयालाई सार्वजनिक सेवाप्रवाह भनिन्छ । कुनै पनि मुलुकको सरकार राम्रो छ वा छैन भन्ने कुरा त्यस मुलुकको सार्वजनिक सेवाप्रवाहको अवस्थाले बताउँछ । यसर्थ कुनै पनि सरकार त्यस देशको प्रशासन भन्दा राम्रो हुन सक्तैन भनिन्छ । सार्वजनिक सेवा राज्यको दायित्व र जनताको अधिकार हो । सरकारको प्रभावकारिता मापन गर्ने बलियो आधार भनेको पनि सेवाप्रवाह नै हो । तसर्थ राज्य वा सरकारबाट नागरिकहरूको हीत संरक्षण एवम् सम्वद्र्धनका लागि राज्यका श्रोत साधनहरूको समुचित परिचालनको माध्यमबाट सार्वजनिक चाँसो र सरोकारका कार्य तथा भूमिकाहरू निर्वाह गर्ने माध्यमलाई सार्वजनिक सेवाप्रवाह भन्न सकिन्छ ।

प्रभावकारी सेवाप्रवाहका सूचकहरू
सार्वजनिक सेवालाई प्रभावकारी बनाउँन गरिएका विभिन्न व्यवस्था हुने गर्दछन् । यसमध्येमा पर्याप्त सेवा, उपयुक्त समय र स्थानमा सेवा प्रवाह, लक्षित समूहको घर दैलोमा सेवाप्रवाह, कम लागत, मितव्ययी, उपयुक्त गुणस्तर, उपयोग गर्न सकिने सेवाग्राही मैत्री सेवा, माग र आपूर्तिवीच सन्तुलित एवम् सामञ्जस्यतापूर्ण सेवा, समता र समानतामा आधारित सेवाप्रवाह व्यवस्था, आवश्यकतानुसार सकारात्मक विभेदका प्रवाधानहरू समेटिएको, सबै सेवाग्राहीको समान पहँुच र अवसरयुक्त, सेवा र सेवाप्रवाहको प्रत्याभूति आदिलाई यसका सूचकहरू मानिएका छन् । त्यसैगरी सार्वजनिक सेवाप्रवाहको वर्तमान अवस्थालाई हेर्दा लक्षित वर्गसम्म पुग्न नसकेको वा स्रोत र साधनको उपयोग कुशल नहुनु, मुल्याङ्कन सुपरिवेक्षण अनुगमनको कमी वा पारादर्शिता प्रतिस्पर्धा र जवाफदेहिताको अभाव रहनु, जनआकांक्षा पुरा हुन नसकेको वा गुणस्तर सेवा प्रवाह हुन नसकेको तथा अस्वस्थ्य राजनैतिक प्रतिस्पर्धा भएको अवस्था पनि देखिन्छ । सार्वजनिक सेवाप्रवाहको प्रभावकारीता भनेको सरकार र जनतावीचमा रहेको खाडल मेटाउँदै सरकारप्रतिको सकारात्मक जनधारणा निर्माण गरी सुशासनमा टेवा दिनु हो ।

सार्वजनिक सेवाप्रवाहमा गर्नु पर्ने सुधारका पक्षहरू
सरकारले लिने मुख्य जिम्मेवारी जनअपेक्षा र आवश्यकता पुरा गर्ने माध्यम नै सेवाप्रवाह हो । सेवा प्रापत गर्ने सम्बन्धी प्रक्रियामा सुधार गरी ढिलासुस्ती हटाउनु नै पहिलो काम हो । विकल्पको विस्तार गरी कम कार्यचाँप हुने कार्यालयलाई थप कामको व्यवस्था मिलाउनु पर्ने हुन्छ । साझेदारी निर्माण गरी निजी क्षेत्र, गैंसस, नागरिक समाजलाई अधिकतम रुपमा परिचालन गर्दै मानवीय श्रोतको विकास गरीकन व्यवसायिक कर्मचारीतन्त्र बनाउँनु पर्दछ । मापदण्ड निर्धारण गरी सेवाको सरल प्रवाह हुने व्यवस्था सुनिश्चित गर्नु पर्दछ । दुुरी र समयको अवरोध हटाउँदै मोवाइल सेवा, इ–सेवा आदि प्रदान गर्ने । नविनतालाई प्रवर्धन गर्दै सिर्जनशील र उत्कृष्ठलाई प्रोत्साहन गर्ने परिपाटीको विकास गर्ने । कार्यसम्पादनमा गरिने निर्णयका तह घटाउने र सदाचारिताको विकास गर्ने । नविन प्रविधिको उपयोग गर्ने र वाञ्छित समुहको पहिचान गर्ने । वास्तविक योजना तथा कार्यक्रम तर्जुमा गर्ने र जवाफदेहिता, पारदर्शिता, अवलम्वन गर्नु पर्ने । कानुनी शासनको पुर्ण परिपालना गर्ने र प्रत्येक कार्यालयमा नागरिक वडापत्र लागु गर्नु पर्ने । एकीकृत घुम्ति सेवा संचालन गर्नु पर्ने र स्थानीय तहको सशक्तिकरणमा जोड दिनु पर्ने जरुरी छ । हरेक विषय वा क्षेत्रको अनुगमन मुल्याङ्कलाई प्रभावकारी बनाउनु पर्ने र दण्ड र पुरस्कारको व्यवस्था अनिवार्य गर्नु पर्ने देखिन्छ । यिनै विषयमा बढी ध्यान केन्द्रित गरियो भने अवश्य पनि सुधारका पक्षलाई समेट्न सकिन्छ र सुशासनको पनि अभिवृद्दि हुन्छ ।

निष्कर्ष
यसरी हामीलाई नभई नहुने सार्वजनिक सेवामा आजका सेवाग्राहीहरूको जनअपेक्षालाई मध्यनजर गर्दै सुधार गर्नुको विकल्प देखिदैन । सरसर्ती रुपमा मूल्याङ्कन गर्दा पूर्ण रुपमा माग पक्ष सन्तुष्ट हुन सकेको समेत पाइदैन । सेवाप्रदायकहरूले पनि सक्दो सुधार गर्ने प्रयास गरिरहेकै छन् । आजभोलि परिवर्तन मान्छेलाई छिटो छिटो चाहिएको अवस्था पनि पाइन्छ । सेवाप्रदायी र सेवाग्राही दुबैले सुधारका लागि पर्यत्न गरेको खण्डमा अपेक्षित लक्ष हासिल गर्न कुनै अप्ठेरो पर्दैन । सीप, स्रोत र साधनको समुचित प्रयोग गरेर सार्वजनिक सेवालाई सहज ढंगले प्रवाह गर्ने र सेवाग्राहीले पनि सकारात्मक सोंचका साथ ग्रहण गर्दै सुधारका लागि सहयोग गर्नु नै समृद्धिको एउटा मूख्य पाटो मान्न सकिन्छ ।

लेखक बगनासकाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।