पाल्पाका सबै स्थानीय तहमा गठबन्धनमा रहेका दलहरुको चुनावी तालमेल हुने भएको छ । बुधवार नेपाली काँग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठको अध्यक्षतामा बसेको गठबन्दनका दलहरुको बैठकले पाल्पाका सबै स्थानीय तहहरुमा गठबन्धनमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय गठबन्धनमा आवद्ध रहेका नेपाली काँग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाको बैठकले उक्त निर्णय गरेको हो । बैठकले चुनावी तालमेलका सम्बन्धमा काँग्रेस सभापति हिमाल दत्त श्रेष्ठको अध्यक्षतामा संयन्त्र बनाएको छ । जसको सदस्यमा नेकपा माओवादी केन्द्रका संयोजक नेत्र प्रसाद पाण्डे, एकिकृत समाजवादीका अध्यक्ष खिमानन्द पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी र जनता समाजवादीका मेयरमान राना रहेका छन् । नेपाली काँग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठका अनुसार पाल्पाका १० वटै स्थानीय तहमा गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेल गरेर आगामी निर्वाचनमा जाने सहमति भएको छ ।