पाल्पा । २१ चैत्र ।
केही दिन यता देखी सामाजिक संजालहरुमा पाल्पाको स्वास्थ्य वीमाले चर्चा पाएको छ । मिसन अस्पताल पाल्पाले स्वास्थ्य वीमा कार्यक्रमको भुक्तानी नपाएकोले कार्यक्रम लागु नगर्ने सूचना आएपछी यो विषयले संजाल तातेको हो ।
पाल्पाली जनताले सुखम दुखम उपभोग गरेको सेवा समेत मिसन अस्पताले बन्द गर्ने निर्णय गरेको छ । स्वास्थ्य सेवा सुविधा दिने भनि स्थापना भएको स्वास्थ्य संस्थाले आफ्नो कर्तव्य र दायित्व नै भुलेर विमा सेवा बन्द गर्दा समेत जिल्लाका सरोकारवाला निकाय चुपचाप छन । नेकपा एमाले पाल्पाले भने स्वास्थ्य विमा सुविधा बन्द गर्ने निर्णय तत्काल सच्चाउन ध्यानकर्षण गराएको छ । विमा सुविधामा भएको लापरवाही प्रति नेकपा एमाले पाल्पाले एक प्रेस विज्ञप्ती जारी गरी निर्णयप्रति जिम्मेवार हुन अनुरोध गरेको छ । स्वास्थ्य विमा मार्फत जनताले सेवा पाउनुपर्नेमा उल्टै दुख र सास्ती पाएको भन्दै एमाले पाल्पाले विमा सुविधालाई सेवाग्राहीमैत्री बनाउन माग समेत गरेको छ ।

एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले एक प्रेस विज्ञप्ती जारी गर्दै विमा सुविधालाई बन्द नगरी सेवा दिन अपिल गर्नुभएको छ । रकम उपलब्ध नभएको बाहनामा जनतालाई सेवा सुविधाबाट नै बञ्चित गरिनु सामाजिक उत्तरदायित्व विहिन हुनु हो भन्दै विमा सुविधा बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह समेत गर्नुभयो । सरकारी अस्पतालको सेवालाई सुधार गरि सुविधाको दायरा वृद्धि गर्न तर्फ तीनै तहका सरकारले ध्यान दिन आवश्यक रहेकोमा समेत जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । यस अघि गत फाल्गुन ३० गते समेत एमाले पाल्पाले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गरेको थियो ।