पाल्पा १२ माघ
विष्णु घिमिरे
नेकपा एमाले पाल्पाले राज्यका तीनै अंगहरु बेकम्मा र असफल भएको बताएको छ । पार्टी कार्यालयद्धारा आयोजित पत्रकार भेटघाटमा पोलिटव्यूरो सदस्य ठाकुर गैरेले राज्यका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जनताको नजरमा असफल भएको बताउनुभयो । पाल्पा जिल्ला इन्चार्ज समेत रहनुभएका नेता गैरेले बैषाख भित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थालाई गठबन्धनको सरकारले लत्याएको आरोप लगाउदैं, सरकारले जनप्रतिनिधि विहिन अवस्था गराउनु नेपाली जनताका लागि दुर्भाग्य हुने बताउनुभयो ।
समसामयिक विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा वोल्दै नेकपा एमाले पाल्पा जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले पाल्पा जिल्लाबाट प्राकृतिक सम्पदाहरु माथिको दोहन प्रति गम्भिर ध्यानाकर्षण रहेको बताउनुभयो । नेता घिमिरेले खानी संचालन गर्दा राज्यको राजश्वको साथसाथै जिल्लालाई दिर्घकालिन असर पार्ने गतिविधिहरु नगर्न समेत आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा वोल्दै नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम राना, पत्रकार माधव अर्याल, पत्रकार विष्णु घिमिरे लगायतले प्रतिपक्षको भुमिका सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । पत्रकार सम्मेलनको संचालन जिल्ला सचिव रामजी पोखरेल र अध्यक्षता धनेन्द्रराज घिमिरेले गर्नुभएको थियो ।