विष्णु घिमिरे
पाल्पा ८ पौष ०७८ ।
रिब्दीकोट गाउपालिकामा एकद्धार प्रणालीमा दुध संकलन सुरु भएको छ । गाउँपालिकाका विभिन्न वडाहरुमा संकलित दुध भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्था मार्फत एकद्धार प्रणालीबाट संकलन सुरु भएको हो ।
हेफर प्रोजेक्ट नेपाल र रिब्दीकोट गाउपालिकाको सहयोगमा रिब्दीकोट ४ भैरवस्थानमा सहकारीले दुध संकलन र वजारीकरणको एकद्धार प्रणाली सुरु गरेको हो । बुधवार सहकारीले एक कार्यक्रमको आयोजना गरी दुध संकलन केन्द्रको उद्घाटन गरेको छ । आफ्ना सदस्यहरुले उत्पादन गरेको दुधको बजारीकरण को लागि दुधको शुद्धता मापन गर्ने यन्त्र तथा दुध चिस्यान केन्द्रको समेत स्थापना गरी संकलन केन्द्र संचालन गरिएको सहकारीका अध्यक्ष केशव नेपालले जानकारी दिनुभयो । रिब्दीकोट गाउँपालिकाको ८ वटै वडाहरुबाट संकलन हुदै आएको दुध अव भैरवस्थान कृषि बहुउदेश्यिय सहकारीमा संकलन गरी वजारीकरण गरिने सहकारीले जनाएको छ । रिब्दीकोट गाउँपालिकाका ८ वटा वडाहरुमा १ हजार ५ सय लिटर दुध संकलन हुदै आएको छ । उक्त दुध सबै सहकारीले खपत गरी वजारिकरण गर्ने सहकारीले जनाएको छ ।

रिब्दीकोट गाउपालिकाका वडाहरुमा उत्पादित तथा संकलित दुधले राम्रो वजार पाउन सकेको थिएन् । गाउँपालिकाका अध्यक्ष नारायण जिसीका अनुसार सबै वडाहरुबाट संकलित दुधबाट कृषकहरुलाई उत्पादनको उचित मुल्यको सुनिश्चितता हुने उल्लेख गर्नुभयो ।
रिब्दीकोटको दुध स्थानीय वजारमा विक्री हुदै आएको थियो । हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा रिब्दीकोट गाउपालिकाले उद्यमशिलता विकास कार्यक्रम संचालन गरेपछी उपभोक्तालाई गुणस्तरि दुध तथा दुधजन्य वस्तुहरु उपलव्ध गराउन सहज भएको हो । हेफरका कार्यक्रम अधिकृत विष्णु पाण्डेका अनुसार रिब्दीकोट गाउपालिकाका १० वटा सहकारी सस्थाहरुलाई डेरी व्यवसाय प्रवद्र्धन कालागि सामाग्री सहयोग गरिएको थियो । त्यसैगरी १५ वटा समूहका ११५ जना सदस्यहरुलाई ११५ वटा उन्नत नश्लका भैंसी तथा पाडीहरु वितरण गरिएको थियो ।

सहयोगी सस्था ग्रामिण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लीला कार्कीका अनुसार रिब्दीकोट गाउपालिकालाई दुध उत्पादनमा आत्मनिर्भर बनाउन सस्थाले घाँस विकास सहयोग कार्यक्रमः समेत गरेको बताउनुभयो । कार्कीका अनुसार गाउँपालिकाका ८ वटै वडाहरुमा घाँसको बीउ तथा विरुवाहरु सहयोग गरिएको छ । सुपर नेपियर, किम्बु, सम्बा सेटरिया लगायतका उन्नत जातको घाँसको विरुवाहरु सहयोग गरिएको छ । ४० रोपनी क्षेत्रफलमा २ लाख भन्दा बढी घाँसको विरुवा रोपण गरी युवाहरुको आयआर्जन वृद्धीमा सहयोग गरिएको बताउनुभयो