पाल्पा १८ मंसिर ।
जिल्लाको तिनाउ गाउँपालिकाले पालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण गरेको छ । यहि मंसिर १६ र १७ गते गरि दुई दिनमा ३३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनुभयो । जसमध्ये १ जनालाई रातो,१२ जनालाई निलो,११ जनालाई पहेलो र ९ जनालाई सेतो परिचयपत्र वितरण गरिएको हो ।

पाल्पा जिल्ला अस्पतालका डाक्टर प्रकाश न्यौपानेबाट अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरिएको, त्यसको लागि अपाङ्गता सहयोगी सस्था पाल्पा सिवि आरका कार्यक्रम संयोजक कृष्ण गहतराजले सहजीकरण एवम गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत सुन्दर श्रेष्ठले प्रमाणपत्रको प्रमाणित गरि प्रदान गरिएको थियो ।

 

नेपाल सरकारले बनाएको मापदण्डअनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई क,ख,ग र घ गरि ४ वर्गमा वर्गीकरण गरिएको छ । जस्माू क वर्गलाई रातो, ख वर्गलाई निलो, ग वर्गलाई पहेलो र घ वर्गलाई सेतो रंगको प्रमाणपत्र दिने गरिन्छ । हाल क वर्गलाई मासिक ४ हजार, ख वर्गलाई २ हजार ६ सयका दरले भत्ताको व्यवस्था नेपाल सरकारले गरेको छ भने ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिहरूले लोक सेवा आयोग वा अन्य क्षेत्रमा कोटा छुट्याएर अवसर प्रदान गर्ने गरेको छ ।

अपांग परिचयपत्र वितरण गर्दै गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले फरक क्षमता भएका अपांग नागरिकहरूले सामान्य मानिसहरूले जस्तो दैनिक जीवनयापन गर्न नसक्ने भएकोले उनिहरूको दैनिक जीवनयापनमा सहज होस भनी सरकार मासिक भत्ता प्रदान गर्ने व्यवस्था गरेकोले गाउँपालिकाले २ दिने सिविर सञ्चालन गरि अपांगता भएका व्यक्तिहरूलाई परिचयपत्र प्रदान गरिएको बताउनुभयो । साथै गाउँपालिकाले उत्पादन कार्यमा जोडिन सक्ने अपांग भएका व्यक्तिहरूलाई स्वरोजगार मुलक कार्यक्रममा जोडी आत्मनिर्भर बनाउने खालका कार्यक्रमहरू पनि सञ्चालन गरेको बताउनुभयो ।