मिलन विश्वकर्मा
मंसिर ३, २०७८ पाल्पा

जिल्लाको बगनासकाली गाउँपालिका २ पोखराथोकका युवा पदम बहादुर रानाले २९० वृद्धलाई टेकेर हिँड्ने लौरो वितरण गरेका छन्। वडा नम्बर ३ नायरनमतलेसका वृद्धलाई वितरण गरिने छ। शुक्रबार वडा नम्बर ३ को कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नायरनमतलेसका १५० बढी वृद्धलाई पदमकी धर्मपत्नी डीला राना र वडाध्यक्ष टीका थापाले लौरो प्रदान गरेका हुन्।

यस्तै पोखराथोकका १३० जना वृद्धलाई शनिबार लौरो वितरण गर्ने कार्यक्रम रहेका डीलाले बताइन्। ७० वर्ष उमेर पुगेका वृद्धलाई लौरो प्रदान गरिएको छ। आवश्यकताको आधारमा अन्य उमेर समूहका मानिसलाई पनि लौरो प्रदान गरिएको उनले बताइन्।

रोजगारको सिलसिलामा हाल दुबई बस्दै आएका पदमले गाउँघरका वृद्धलाई लौरो वितरण गरेका हुन्। केही लौरो उनले दुबईबाट नै पठाएका थिए।

परिवार पाल्नको लागि रोजगारीको सिलसिलामा युवा विदेश जानुपर्ने बाध्यता छ। गाउँघरमा वृद्ध बुवाआमा मात्रै हुनुहुन्छ। प्रत्यक्ष साथ दिन नसकेपनि यताउता हिडडुल गर्न साहाराको लागि लौरो पठाएको पदमले बताए।

गतिलो लौरो नहुदा कतिपय बुवाआमा हिड्न नसक्ने अवस्था देखेपछि आफूले श्रीमानलाई गाउँका सबै वृद्धलाई लौरो सहयोग गर्न भनेको डीलाले बताइन्।

छोराछोरीले नहेर्दा कतिपय वृद्ध विचल्लीमा परेका छन्। कतिपय वृद्धाश्रम जानुपर्ने बाध्यता छ। यस्तो अवस्था लौरो वितरण गरेर पदमले समाजमा अनुकरणीय काम गरेको वडाध्यक्ष टीका थापाले बताए। यस कार्यले वृद्ध बुवाआमालाई सेवा गर्नु सबैको दायित्व हो भन्ने सन्देश दिएको उनले बताए।

लौरो खरिद तथा वितरण कार्यमा युवा संजालका अध्यक्ष डेन्जिङ रायमाझीले समन्वय गरेका थिए।

सहयोगस्वरूप पाएको लौरोले आफूलाई राहत मिलेको स्थानीय ८३ वर्षीय चेतनारायण घिमिरे बताए।

सामान्य दाउराको लौरो टेकेर हिड्दा लडिने अवस्था थियो। बजार र कार्यक्रममासमेत राम्रो आधुनिक लौरो टेकेर हिड्न पाउँदा खुसी लागेको ९९ वर्षीया सूर्यकुमारी कवरले बताइन्।