Share
  •   
  •  
  •  
  •  

पाल्पा । १५ असोज, ०७८ ।
बगनासकाली गाउँपालिका अन्र्तगतका मुख्य बजार क्षेत्रको एकै दिन अनुगमन गरिएको छ । गाउँपालिका अन्र्तगतको बजार अनुगमन समितिले शुक्रवार ३ छुट्टाछुट्टै टोली बनाई सबै वडाहरुमा रहेका स्थानीय बजारहरुको अनुगमन गरेको हो ।

गाउँपालिका आलेप अधिकृत यादव न्यौपानेको नेतृत्वमा राम्दी बजारको अनुगमन गरियो । राम्दी क्षेत्रका १८ पसल ब्यवसायमा गरिएको अनुगमनका क्रममा १८ सय ५ रुपैयाँ बरावरको म्याद गुज्रेका अखाद्य सामाग्री बरामद् गरि नष्ट गरिएको छ । त्यस्तै अनुगमन समितिका फोकल पर्सन भरत घिमिरेको नेतृत्वमा आर्यभञ्ज्याङ, पोखराथोक र चिर्तुङधारामा रहेका पसल ब्यवसायमा अनुगमन गरिएको छ । यस क्षेत्रका ३७ वटा पसलमा गरिएको अनुगमनका क्रममा ६ हजार ५५ रुपैयाँ बरावरको म्याद गुज्रेका अखाद्य सामाग्री बरामद् गरि नष्ट गरिएको छ ।

त्यस्तै गाउँपालिकाका आइटी अफिसर ध्रुव पराजुलीको नेतृत्वमा दर्लमडाँडा, चापपानी, बराङ्दी र खानीगाउँ क्षेत्रका पसलहरुको अनुगमन गरिएको छ । सबै अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी प्रतिनिधि, उपभोक्ता हित समितिका प्रतिनिधि, ब्यापार संघका प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।


अनुगमनका क्रममा पसल ब्यवसायमा ब्यापारका लागि राखिएका खाद्य सामाग्रीहरुको उपभोग्य म्यादको अवस्था, नापतौलको अवस्था, घरेलु, प्यान तथा गाउँपालिका र वडा कार्यालयमा दर्ता तथा नविकरणको अवस्था, होडिङ बोर्ड राखिएको नराखिएको, मुल्य सूची राखिएको नराखिएको लगायतको बिषयमा अनुगमन गरिएको थियो । कागजपत्र पुरा नभएकाहरुलाई एक हप्ताभित्र सम्बन्धित निकायमा दर्ता नविकरणका लागि समय उपलब्ध गराइएको अनुगमन समितिका संयोजक घिमिरेले पाल्पा समाचारपत्रलाई बताउनुभयो ।

दशैं तिहार लगायत पर्वहरु नजिकिदै गर्दा बजारहरुमा म्याद गुज्रेका सामाग्रीहरु बिक्री हुन सक्ने, अनावश्यक मुल्य बृद्धि हुन सक्ने बढी रहन्छ । त्यसैले पनि सदरमुकाम सहित स्थानीय बजारहरुको अनुगमन निरन्तर भइरहनुपर्ने स्थानीयहरुले बताएका छन् । तानसेन नगरपालिकाका बिभिन्न वडाहरुमा रहेका बजारहरुमा पनि अनुगमन भइरहेको छ । अन्य पालिकाहरुले पनि अनुगमनलाई निरन्तरता दिने जनाएका छन् । स्थानीय तहहरुले बजार अनुगमन कार्यबिधि बनाई बजार अनुगमन गर्न सक्ने ब्यवस्था रहेको छ । पाल्पा समाचार पत्रबाट