Share
  •   
  •  
  •  
  •  

पाल्पा । १०, असोज । ०७८ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पाल्पाका स्थानीय तहमा कांग्रेस पदाधिकारी चयन भएका छन् । जिल्लाका दश स्थानीय तहमध्ये सातवटा पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन हुँदा दुइ पालिकामा निर्वाचन भएको छ भने एकवटामा स्थगित भएको छ ।

नेपाली कांग्रेस निस्दी गाउँपालिकाको सभापतिमा पूर्ण बहादुर खाँड, पूर्वखोलामा बिष्णु आचार्य, रम्भामा ऋषिराम अर्याल, माथागढीमा दिपक थापा, तिनाउँमा प्रेम पाण्डे, वगनासकालीमा थानेश्वर तिमिल्सिना र रैनादेवी छहरा गाउँपालिकामा बिष्णु पोखरेल सर्वसम्मत रूपमा चयन हुनुभएको छ। रिब्दीकोट गाउँपालिकामा मतदानको माध्यमबाट रामचन्द्र पाण्डे निर्वाचित हुनुभएको छ । पाण्डे ९७ मत सहित विजयी बन्दा उहाँका प्रतिस्पर्धी इन्द्र पाण्डेले जम्मा ७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै पाल्पाको रामपुर नगरपालिकामा नेपाली कांग्रेस सभापतिमा नेत्र प्रसाद भट्टराइ निर्वाचित हुनुभएको छ । यस्तै जिल्ला सदरमुकामको तानसेन नगरपालिकामा उद्घाटन सत्रमात्र सम्पन्न गरेर बन्द सत्र सुरू नहुँदै १४ औं नगर अधिवेशन स्थगित गरिएको छ । तानसेनमा पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन श्रेष्ठले कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। नगर सभापतिमा सुवर्णमुनी शाक्य समेत उम्मेदवार बन्ने चर्चा चलेको छ । नगर सभापतिमा श्रेष्ठ र शाक्यको दावी छ । यद्यपी शाक्यले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको छैन ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत निर्धारित कार्यतालिका अनुसार क्रियाशिलता सदस्य विवाद नरहेका तथा समाधान भएर वडा अधिवेशन भएका ६४ जिल्लाहरुमा पालिका अधिवेशन भएको हो । १३ जिल्लामा भने सदस्यता विवाद अझै कायम नै रहेकाले वडा अधिवेशन हुन सकेको छैन ।