Share
  •   
  •  
  •  
  •  

विष्णु घिमिरे
पाल्पा ०४ असोज । ०७८ ।
रिब्दीकोट गाउँपालिका पाल्पाले स्मार्टटोल कार्यक्रम संचालन गरेपछी स्थानीयहरु प्रविधिमैत्री हुन थालेका छन् । गाउँपालिकाका विपन्न र दुर्गमस्थानहरुमा स्मार्टटोल कार्यक्रम संचालनले स्थानीयहरुले प्रविधिसंगै आफ्ना दिनचर्या विताउन थालेका हुन् । स्मार्टटोलका घरघरमा इन्टरनेट जडानपछी अहिले यहाँका स्थानीयहरु विद्युत, टेलिभिजनको महसुल बुझाउन तथा आफन्तसंग इन्टरनेटमा कुराकानी गर्न थालेका छन् ।
रिब्दीकोट गाउँपालिका देउराली डम्बककी तारा ढकालले विहे गरेर दिएकी छोरीलाई भिडियोकलमा देख्न पाउदा ढुक्क हुने गरेको बताउनुहुन्छ । ढकालले छोराछोरी आफुबाट टाढा बसेपनि घरमा गाउँपालिकाको सहयोगमा जोडिएको इन्टरनेटबाट भिडियोकल गर्न पाउदा छोराछोरी संगै रहेजस्तो महसुस हुने गरेको बताउनुहुन्छ ।

रिब्दीकोटको देउराली डम्बकमा संचालित स्मार्टटोलका सहजकर्ता अशोक पाण्डे योजना फरफारकको लागि फोटोकपी गर्दै

रिब्दीकोट गाउँपालिकाले पालिकाका ८ वटैवडाहरुका दुर्गम बस्तीहरुमा स्मार्टटोल कार्यक्रम संचालन गरेको छ । स्मार्टटोलमा आवद्ध २५ देखी ५० परिवारमा इन्टरनेट जडान गरिएको छ । टोलको एकजनालाई सहजकर्ता तोकिएको छ । सहजकर्तालाई कम्प्यूटर र फोटोकपी मेसिन दिइएको छ । रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत प्रेमचन्द्र अर्यालका अनुसार सहजकर्ताले इन्टरनेटबाट विद्युत महसुल, टेलिभिजन महसुल, फोटोकपी तथा गाउँपालिकामा योजना फरफारकमा कागजपत्रको सहजिकरण गर्दछन् । अर्यालका अनुसार गाउँपालिकाका योजना फरफारकमा समेत सहज हुने गरेको छ ।
प्रविधिमा पँहुचसंगै कामहरुलाई छिटो र सहज बनाउन रिब्दीकोट गाउँपालिकाले स्मार्टटोल कार्यक्रम संचालन गरेको गाउँपालिकाका अध्यक्ष नारायण वहादुर जिसी बताउनुहुन्छ । जिसीका अनुसार गाउँपालिकाका सबै वडाहरुमा कार्यक्रम संचालन पछी स्थानीयहरु प्रविधिसंगै आफ्ना कामकाज गरेका छन् । उनीहरु घण्टौ हिडेर कार्यालय जानुपर्ने बाध्यता हटेको छ ।
अहिले २१ औं शताब्धी प्रविधिको युग हो । हिजो घण्टौं हिडेर आफन्तसंग फोन गर्न जानुपर्ने अवस्था बदलिएको छ । गाउँगाउँमा इन्टरनेट र स्मार्ट फोनको प्रयोग संगै बैंकमा मात्र होइन घरघरमा सामाजिकसंजालका एकाउन्ट खुलेका छन् । राम्रो संग फोन चलाउन नजान्नेहरु पनि अहिले हेरेर वोल्ने अभ्यास गर्न थालेका छन् ।

रिब्दीकोटको देउराली डम्बकमा संचालित स्मार्टटोलका सदस्यहरुलाई वैंकसंग प्रविधिलाई जोड्न सिकाउन आयोजित कार्यक्रममा स्मार्टटोलको अवधारणा वारे बताउदै गाउँपालिकाका अध्यक्ष नारायण जिसी