Share
  •   
  •  
  •  
  •  

 

विष्णु घिमिरे
पाल्पा २ श्रावण ।
माथागढी गाउँपालिका ४ झडेवाका देव बहादुर बराल २५ वर्षदेखी तरकारी खेती गर्दै आउनुभएको छ । ढाँकरमा बोकेर पसलहरुमा तरकारी बेच्ने बराल अहिले गाडीमा तरकारी राखेर बुटवल वजारमा बेच्नुहुन्छ । तरकारी खेतीबाटै परिवार पाल्दै आउनुभएका बरालले १५ रोपनी जग्गामा तरकारी मात्र लगाउनुभएको छ । ६ रोपनीमा मेथाहट जातको खुर्सानी र बाँकीमा अन्य तरकारी लगाउनुभएको छ । खुर्सानीबाट मात्र २ ढाई लाख आम्दानी गर्ने बराल भन्नुहुन्छ, “ ३४ वटा टनेल बनाउदै छु, अव एक वर्षमा २०,२५ लाख आम्दानी गर्ने लक्ष्य छ ।”
देव बहादुर बरालले धान र मकै लगाउन छोडेको धेरै वर्ष भयो । “एक रोपनी जग्गामा धान लगाउँदा मुस्किलले १ रोपनी फल्छ, खुर्सानी लायो भने ५० हजार आम्दानी हुन्छ । भन्ने बरालले तरकारी खेतीबाटै ९ जनाको परिवार पाल्दै आउनुभएको छ । जिवनमा कहिले जागिर नगरेका बरालका छोराछोरी समेत विदेश जान मान्दैनन् ।
माथागढी गाउँपालिकाको वडा नं. ४ झडेवा क्षेत्र अहिले नगदेवालीमा अग्रसर भएको छ । यहाँका १२, १३ परिवार सबैले नगदेवाली लगाउछन् । ३ वर्ष अघि देखी खुर्सानी खेती गर्दे आउनु भएका मालिका देवी कृषि समूहका कृषक चन्द्र बहादुर बरालले पनि १० रोपनी जग्गामा खुर्सानी लगाई वार्षिक ३ लाख बढी आम्दानी गर्दै आएको बताउँनुहुन्छ । खुर्सानी खेती बाटै राम्रो आम्दानी हुन थालेपछि अन्य बाली समेत लगाउन छाडी खुर्सानी मात्र लगाउन थालेको बरालले बताउनुभयो । चन्द्र बहादुर बराल यस क्षेत्रका कृषकहरुले खुर्सानी खेतीबाट राम्रो आम्दानी गर्न थालेपछि अन्य कृषकहरु समेत यस खेतीतर्फ आर्कषित बन्दै गएको बताउनुभयो ।
जिल्लाको माथागढी गाउँपालिका ४ झडेवा अहिले खुर्सानीको पकेट क्षेत्र बन्दै गएको छ । खेर गइरहेको जग्गालाई सदुपयोग गर्दै गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय कृषक समूह मार्फत खुर्सानीको पकेट क्षेत्रको रुपमा झडेवा अगाडि बढेको हो ।
गाउँपालिकाले कृषि क्षेत्रबाटै जनतालाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने योजना अनुरुप वडा कार्यालयले झडेवालाई खुर्सानीको पकेट क्षेत्रको रुपमा विस्तार गर्दै गएको छ । तीन वर्षदेखि नै झेडवालाई खुर्सानीको पकेट क्षेत्रको रुपमा विकास गर्ने अठोटसँगै वडा कार्यालयले कृषकहरुलाई निःशुल्क रुपमा खुर्सानीका विउ, मल र प्राविधिक सहयोग गर्दै आएको वडा अध्यक्ष मधु पराजुलीले बताउनुभयो ।
गाउँपालिकाले खुर्सानी खेतीका लागि आवश्यक सहयोग गर्दै आएकाले यस तर्फ कृषकहरुको आकर्षण समेत बढ्दै गएको छ । झडेवा क्षेत्र खुर्सानी खेतीका लागि उर्वर मानिएकाले यसलाई पकेट क्षेत्रको विकास गरिएको गाउँपालिकाका अध्यक्ष शन्तोष थापा मगरले बताउनुभयो । खुर्सानी खेतीका लागि गाउँपालिकाले आवश्यक विउविजन, मल र प्राविधिक सहयोग समेत उपलब्ध गराउँदै आएको छ ।
झडेवामा खुर्सानी खेतीको लागि २१ कृषक समूह निमार्ण गरी विभिन्न क्षेत्रमा खुर्सानी खेती गरिदै आइएको छ । यहाँका प्रत्येक घरहरुले खुर्सानी तथा अन्य तरकारी वालीहरु लगाएरै गुजारा मात्रै होइन राम्रै आम्दानी गर्दै आएका छन् ।