Share
  •   
  •  
  •  
  •  

विष्णु घिमिरे
पाल्पा । १५ असार । ०७८ ।
केही दिन अगाडी अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुभएको कालीगण्डकी डाइभर्सन परियोजनाको चौतर्फी विरोध सुरु भएको छ । आयोजना प्रभावित जिल्लाका स्थानीय तहहरु, विभिन्न पार्टीका नेता तथा पूर्व सांसदहरुले विरोध गरेका छन् । कालीगण्डकी डाइभर्सन परियोजनाले भौगोलिक रुपमै प्रत्यक्ष नकारातमक प्रभाव पर्ने भन्दै विरोध सुरु गरेका छन् ।
पूर्वमन्त्री तथा पाल्पा क्षेत्र नं. १ का सांसद दल बहादुर रानाले कालीगण्डकी डाइभर्सन परियोजनाले नदी तटीय क्षेत्रमा नकारात्मक प्रभाव पर्ने भन्दै विरोध गर्नुभएको छ । सरकारले बजेट मार्फत ल्याएको कालीगण्डकी डाइभर्सनले तल्लो तटिय क्षेत्रको योजना र समस्यालाई असर पार्नेगरी गर्न खोजिए मान्य नहुने उनले बताउनुभएको छ । राम्दी देखी देबघाटसम्मको तल्लो तटिय क्षेत्रमा रहेको त्यहाँका जनताको आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक महत्वका क्षेत्रमा असर पर्ने गरी गर्न खोजिएको गालीगण्डकी डाइभर्सन आफ्ना निम्ती मान्य नभएको रानाको भनाई छ ।
त्यसैगरी रामपुर नगरपालिका, रम्भा गाउँपालिकाले पनि विरोध जनाएका छन् । रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापाले जस्तो सुकै सामना गर्नुरेपनि कालीगण्डकी डाइभर्सन परियोजना सफल हुन नदिने बताउनुभएको छ । मेयर थापाले भौतिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको कालिगण्डकी नदी माथीको आक्रमण बन्द हुनुपर्ने बताउनुभयो । यता रम्भा गाउपालिका पाल्पाले पनि कालीगण्डकी डाइभर्सन परियोजनाको विरोध गरेको छ । मंगलवार गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले एक विज्ञप्ती जारी गर्दै कालीगण्डकी डाइभर्सन परियोजनाको विरोध गर्नुभयो । अध्यक्ष भण्डारीले कालिगण्डकी नदी मात्र नभएको बताउदै धार्मिक र सास्कृतीक महत्व समेत बोकेको हुनाले यसको डाइभर्ट गर्न नहुने बताउनु भयो ।
डाइभर्सन आयोजनाले लुम्बिनी प्रदेशका पाल्पा, गण्डकीको स्याङ्जा र तनहुँसम्म १० वटा स्थानीय तहको भौगोलिक क्षेत्रमा प्रत्यक्ष नकारात्मक प्रभाव पर्ने भन्दै विरोध भएको हो ।
कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना अगाडि बढाउन लागेको प्रति कालीगण्डकीको तटिय क्षेत्रबाट चर्को विरोध भएको छ । अर्थमन्त्री पौडेलले बुटवलमा आयोजनाको कार्यालयको उद्घाटन गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित गण्डकी प्रदेश र पाल्पाका स्थानीय बासिन्दाले विरोध जनाएका हुन् ।