Share
  •   
  •  
  •  
  •  

पाल्पा । ९ असार । ०७८
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले आफ्नो नवौं गाउँसभा मार्फत नीति तथा कार्यक्रम पेश गरेको छ । सोमबारदेखि सुरु भएको गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष चेतकुमारी थापाले आर्थिक वर्ष २०७८।०७९ को लागि नीति कार्यक्रम पेश गर्नुभएको हो । नीति कार्यक्रममा गाउँपालिकाले कोभिड नियन्त्रण, शिक्षा स्वास्थ्य, पर्यटन र कृषि, पशुपालनलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले गाउँमा कोरोनाको नियन्त्रणसँगै आर्थिक विकासको लागि शिक्षा, स्वास्थ्य, कृषि पशुपालनको माध्यमबाट रैनादेवी छहराको वृहत्तर विकासमा सहयोग गर्ने बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा भएको गाउँसभामा विनियोजन विधेक समेत पेश गरिनेछ । पालिकाको आगामि वर्षमा विश्व महामारीको रुपमा रहेको कोभिड नियन्त्रण र पशुपालन, कृषि पेशालाई थप प्रभावकारी बनाउने गरी योजना बनाइएको बताउनुभयो । उहाँले सोही अनुसार गाउँसभामा बजेट समेत पेश हुनेछ ।
आर्थिक वर्ष ०७८ ०७९ मा रैनादेवीका लोकप्रिय कार्यक्रमहरु
रैनादेवी छहरा गाउपालिकाले आर्थिक वर्ष ०७८ ०७९ लाई उज्यालो रैनादेवी, समृद्ध रैनादेवी खेलकुद तथा धार्मिक पर्यटनको गन्तव्य रैनादेवी कार्यक्रम अघि सारिएको छ । आगामी आर्थिक वर्षमा अव्यवस्थित बस्ती, भूमिहिन तथा विस्थापितलाई व्यवस्थित गरिने, विद्यमान समस्याको निकास सुशासन हितको विकास नीतिलाई अघि बढाइने जनाएको छ । त्यसैगरी आगामी आर्थिक वर्षमा एक घर एक धारा, स्वास्थ्य उपचारमा सहायता कोष, कोभिड कृषि कार्यक्रम, एक गाउँ एक पोखरी निर्माण लगायतका कार्यक्रमहरु रहेको बताइएको छ ।

गाउँसभामा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सांसद, पूर्व सांसद, विषयगत समितिका सदस्यहरु, जनप्रतिनिधि, सरोकारवाला पत्रकार लगायतको सहभागिता रहको थियो ।

गाउँसभाले आगामि आर्थिक वर्षको लागि बजेट समेत ल्याउने प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर क्षेत्रीले बताउनुभयो । अहिले नीति तथा कार्यक्रममा आएका कुराहरुको आधारमा पालिकाले बजेट बनाउने गर्दछन् ।