Share
  •   
  •  
  •  
  •  

पाल्पा ३, असार ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले पहिरोले पुरिएर मृत्युभएका परिवारलाई राहत वितरण गर्नुभएको छ । बुधबार जिल्लाको रिब्दीकोट गाउँपालिका ४ भैरवस्थान मन्छिपमा पहिरोले पुरिएर मृत्यु भएका १९ वर्षीय मदन भट्टराईको परिवारलाई प्रमुख जिल्ला अधिकारी पाण्डेले समवेदना व्यक्त गर्दै राहतस्वरुप २० हजार नगदसहित खाद्यान्न र लत्ताकपडा सहयोग गर्नुभएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी पाण्डेले नगदसहित त्रिपाल, कम्मल, लत्ताकपडा, भाँडाकुँडा लगायत खाद्यान्न सामग्री मृतकको आमालाई प्रदान गर्नुभएको छ । सोही अवसरमा प्रमुख जिल्ला अधिकारी पाण्डेले वडाबाट आवश्यक कागजात प्रक्रिया पुग्नेवित्तिकै जिल्ला विपद् व्यवस्थापन समितिले परिवारलाई २ लाख रुपैंया थप राहत प्रदान गर्ने बताउनुभयो । उहाँले तत्काल पहिरो पीडितका परिवारका लागि विपद्मा केही राहत मिलोस् भनेर पीडितको परिवारमै पुगेर सहयोग प्रदान गरिएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । अविरल वर्षाको कारण आफ्नै घरमाथिबाट आएको पहिरोले पुरिँदा भैरवस्थानका १९ वर्षिय किशोर मदन भट्टराईको मृत्यु भएको थियो ।