Share
  •   
  •  
  •  
  •  

बिष्णु घिमिरे
पाल्पा । २३, जेठ । ०७८
यहि जेठ २५ र २६ गते संचालन हुने कोरोना विरुद्धको खोप बगनासकाली गाउपालिकाले सबै वडाहरुमा एकसाथ संचालन गर्ने भएको छ । यस अघि केही वडाहरुमा मात्र खोपकेन्द्र संचालन गर्ने भनिएपनि नागरिकहरुको भावनालाई आत्मसाथ गर्दै ९ वटै वडाहरुमा खोपकेन्द्र संचालन गर्ने भएको हो ।
गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालका अनुसार स्वास्थ्य कार्यालयको व्यवस्थापनमा केही वडाहरुमा मात्र खोपकेन्द्र संचालन गर्ने भनिएपनि बगनासकालीले आफ्नै व्यवस्थापनमा सबै वडाहरुमा खोपकेन्द्र संचालन गर्ने भएको हो । “हामीले स्वास्थ्य कार्यालयलाई भनेका छौं, नागरिकहरुलाई टाढा टाढा जान दुःख हुन्छ, स्वास्थ्यकर्मी र अन्य खर्च व्यवस्थापन हामीले गछौं, सबै वडाहरुबाटै खोपकेन्द्र संचालन गर्नुपर्छ ।” अध्यक्ष बस्यालले भन्नुभयो “स्वास्थ्य कार्यालयले अनुमती दिएको छ, बगनासकालीका ९ वटै वडाहरुका स्वास्थ्यचौकीहरुमा खोपकेन्द्र चल्छ । ”
केन्द्र सरकारले व्यवस्थापन गरेको कोरोना विरुद्धको खोप यहि जेठ २५ र २६ गते ६० देखी ६४ वर्ष उमेरसमूहकालाई लगाइदैछ । बगनासकाली गाउपालिकामा ७ सय ६४ जनालाई कोरोना विरुद्धको खोप लगाउने तयारी भएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिनुभयो ।