Share
  •   
  •  
  •  
  •  

पाल्पा । २३, जेठ । ०७८

जिल्लाको तिनाउ गाउँपालिकाले वडा न ६ को चिदिसमा मौरी घार वितरण गरेको छ । गाउपालिकाले ५० प्रतिशत अनुदानमा वडा नं. ६ को चिदिसमा मौरीघार वितरण गरेको हो । चिदीसका १८ जना कृषकहरुलाई २ वटाका दरले मौरीगोला वितरण गरिएको तिनाउ गाउपालिका पाल्पाले जनाएको छ । गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरका अनुसार कृषकहरुलाई आम्दानीमा बृद्धी गराई आत्मनिर्भर बनाउने उदेश्यले मौरीघार वितरण गरिएको हो । तिनाउमा कृषि तथा पशुपालनका क्षेत्रमा विभिन्न पकेट क्षेत्रका कार्यक्रमहरु चलिरहेका छन् । गाउपालिका अध्यक्ष घर्ती मगरका अनुसार दालचिनी, च्याउ लगायतका पकेटक्षेत्रहरुबाट किसानले मनग्य आम्दानी लिएका छन् । भौगोलिक र वातावरणिय अनुकुलताका आधारमा किसानहरुलाई आत्मनिर्भर बनाउने कार्यक्रमहरु संचालन गरिएको हो ।
चालु आर्थिक बर्ष ०७७।०७८ मा तिनाउको पाटनमा मौरी घार वितरण गरिएको र आगामी दिनमा तिनाउ गाउँपालिकाको ओखलढुङ्गामा मौरी घार वितरण गरिने गाउँपालिकाका कृषि शाखा प्राविधिक किशोर रावलले जानकारी दिनुभयो। घार वितरण पछि कृषकहरूलाई केशव नेपालले मौरी पालनको तरिका बारे प्रशिक्षण दिनुभएको थियो । तिनाउ गाउँपालिकाले कृषि औजार, बिउ विजन, कागती तथा फलफूलका बिरुवा, कृषकहरूलाई अनुदानमा वितरण गर्दै आएको जनाएको छ ।