Share
  •   
  •  
  •  
  •  
  •  

विष्णुप्रसाद पाण्डे
पाल्पा । २२, जेठ । ०७८
हेफर ईन्टरनेशनल नेपालले तिनाउ गाउँपालिकालाई १५ लाख कोभिड राहतकोषका लागि सहयोग स्वरुप हस्तान्तरण गरेको छ । स्थानीय साझेदार संस्था सामाजिक श्रोत विकास केन्द्र नेपाल मार्फत राहतकोष हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी तथा हेफर ईन्टरनेशन नेपालका कार्यक्रम प्रवन्धक अनन्तराज सिलवालले १५ लाख रुपैयाको चेक हस्तान्तरण गर्दै कोभिड १९ को महामारीबाट आक्रान्त बनेको अवस्थामा पालिका मार्फत सञ्चालन गरिएका राहतका कार्यक्रममा साझेदारी गर्न हेफरले सहयोग गरेको बताउनु भयो । प्रमुख अतिथी सिलवालले हेफर ईन्टरनेशनल नेपालले पाल्पा जिल्लाका सवै स्थानीय तहहरुका लागि प्राथमिकताको आधारमा राहत स्वरुप रु १ करोड ४९ लाख सहयोग गर्ने भन्दै यसको शुरुवात तिनाउ गाउँपालिकाबाट भएको वताउनु भयो । साथै यस महामारीको समयमा घरमै सुरक्षित वस्न र अत्यावश्यक काममा बाहिर जानै पर्ने भएका सुरक्षाका सवै मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।
तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुन्दर श्रेष्ठले गाउँपालिकामा ६ सय जनाको कोभिड परीक्षण गर्दा २८५ जनामा पोजेटिभ देखिएको अवस्थामा हेफर ईन्टरनेशनल नेपालले राहत स्वरुप उपलव्ध गराएको १५ लाख रुपैयाले ठुलो सहयोग पुग्ने वताउनु भयो । गाउँपालिकाको पहलमा २२ बेडको क्वारेन्टिन तथा १० बेडको अस्पताल बनाई सेवा प्रवाह गर्दै आएको र बजेट कमी हुँदै गएको अवस्थामा हेफर ईन्टरनेशनल नेपालले गरेको सहयोगले हौसला थपिएको भन्दै सहयोगि संस्था हेफर ईन्टरनेशन नेपाल र सामाजिक श्रोत विकास केन्द्र नेपाललाई धन्यबाद दिनुभयो ।
तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले गाउँपालिकाको पहलमा ७०० थान कोभिड परीक्षण किट खरिद गरी कोरोना परीक्षण गर्दै आएको, क्वारेन्टिन र कोभिड विशेष अस्पतालबाट निरन्तर सेवा प्रवाह गर्दै आएको, राहतका कार्यक्रमलाई पारदर्शी र प्रभावकारी बनाउदै आएको तथा अक्सिजन सिलिन्डर खरिद गर्ने प्रक्रिया रहेको बेला हेफर ईन्टरनेशन नेपालबाट प्राप्त १५ लाख रुपैयाको सहयोगले गाउँपालिकाको अभियानलाई निरन्तरता र थप प्रभावकारी दिन सहयोग पुग्ने बताउदै सहयोगि संस्था प्रति आभार व्यक्त गर्नु भयो ।

रकम हस्तान्तरण तिनाउ गाउँकार्यपालिकाका पदाधिकारीहरुको उपस्थितीमा गरिएको थियो । सामाजिक श्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक चोपलाल गिरीले उद्देश्यमाथी प्रकाश पार्नु भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक शिव न्यौपानेले गर्नुभएको थियो ।