Share
  •   
  •  
  •  
  •  

पाल्पा । १३, जेठ । ०७८
कोरोना संक्रमणको ग्राफ दिनहुँ बढेपछी तानसेन नगरपालिका पाल्पाले टोल टोलमा निशुल्क पीसीआर परीक्षण अभियान सुरु गरेको छ । गत वैशाख १७ गते देखि पाल्पामा निषेधाज्ञा जारी भएपनि दैनिक एकसयभन्दा बढी संक्रमित भइरहेकाले तानसेन नगरपालिकाले वडाका टोलटोलमा निशुल्क पीसीआर परिक्षण सुरु गरेको हो ।
तानसेन नगरपालिकाले पाल्पा अस्पतालको समन्वयमा १४ वटा वडाहरुको टोल टोलमा निशुल्क पीसीआर परीक्षण अभियान सुरु गरेपछि शंकास्पद बिरामी कोरोना परीक्षणका लागि आएका छन् ।
तानसेन नगरपालिकाले वडा नंं ५ ६, ७ र १४ नं. वडाका टोल टोलमा निशुल्क पीसीआर परीक्षण सुरु गरेको छ । प्रत्येक दिन एकएक वडामा परीक्षण अभियान संचालन गर्दै आएको तानसेन नगरपालिकाले जनाएको छ । प्रत्येक वडा टोलमा र वृद्ध, अशक्त तथा अपाङ्गको घर घरमै पुगी स्वाब संकलन गर्दै आएको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले बताउनुभयो । समुदायमा फैलिएको कोरोना नियन्त्रण गर्न, जनताको जीउधनको रक्षा गर्न, जनजीवन सामान्य बनाउन टोल टोलमा निशुल्क परीक्षण अभियान संचालन गरिएको नगर प्रमुख शाहीको भनाई छ ।
तानसेन नगरपालिकाले वैशाख १६ देखि जेष्ठ ११ गते सम्म विभिन्न १५ स्थानमा ३१३ जनाको निशुल्क एन्टिजेन परीक्षण गर्दा १३६ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
वैशाख १६ गते देखि हालसम्म ९८९ जना संक्रमितमध्ये ५४३ जना कोरोनामुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ४१४ जना छन् । नगरपालिकाले निर्माण गरेको आइसोलेसनमा १५ जना भर्ना भएकामध्ये ६ जना रेफर, ३ जना डिस्चार्ज, १ जनाको निधन र ५ जनाको उपचार भइरहेको छ। डा . झपेन्द्र ढकालको नेतृत्वमा ५ जनाको स्वास्थ्य टोली आइसोलेसनमा परिचालन भएको तानसेन नगरपालिकाले जनाएको छ ।
पाल्पामा हालसम्म २३ हजार ३ सय ६१ पीसीआर परीक्षण भएकोमा १८ हजार ९ सय १५ जनामा नेगेटिभ ४ हजार ४ सय १६ जनामा पोजिटिभ देखिएको थियो। जसमा ८१ जना मृत्यु भएको छ भने ३ हजार ८ सय ५७ जना निको भएका छन् । २ हजार ५ सय २५ जनाको ऐन्टिजेन परीक्षण गरेकोमा १ हजार ६ सय ६ जनाको नेगेटिभ र ९ सय १९ जनाको पोजिटिभ रिर्पोट आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।