Share
  •   
  •  
  •  
  •  

तिनाउ गाउपालिकाको गाउगाउमा पुगेर तत्कालै ७ सय जनाको कोरोना परीक्षण गरिने भएको छ । त्यसैगरी गाउपालिकाले संचालन गर्दै आएको कोरोना आइसोलेसनमा १० वेड संचालन हुदै आएकोमा त्यसलाई बढाएर अक्सिजन सहितको २८ वेड संचालन गरिने अध्यक्ष ओम बहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

पाल्पा । ३०, बैशाख ०७८ ।
तिनाउ गाउपालिकामा कोरोना लक्षणका विरामीहरु बढ्न थालेपछी गाउगाउमा परीक्षण गरिने भएको छ । तिनाउ गाउपालिकाका गाउगाउमा कोरोना संग मिल्दोजुल्दो लक्षणका विरामी बढ्न थालेपछी गाउपालिकाले गाउगाउमा गएर पिसिआर परीक्षण गर्ने निर्णय गरेको हो ।
पछिल्ला दिनमा तिनाउगाउपालिका भित्र ज्वरो र रुघाखोकीका विरामी बढ्न थालेपछी गाउगाउमै कोरोना परीक्षणको व्यवस्था मिलाउन गाउपालिकाले पहल गर्ने निर्णय गरेको थियो । तिनाउ गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले तत्कालै ५ सय पिसिआर परीक्षण किट र २ सय एन्टिजेन परीक्षण किट खरिद गर्ने निर्णय भएको बताउनुभयो । तत्कालै ७ सय परीक्षण गछौं, त्यसपछी कन्टयाक्ट टे«सिङ्गको आधारमा परीक्षण गर्ने अध्यक्ष घर्ती मगरले बताउनुभयो ।
त्यसैगरी गाउगाउमा जनचेतना फैलाउने, गाउपालिकामा रहेको एम्बुलेन्स र गाउपालिकाको सवारीसाधन कोरोना संक्रमित बोक्न प्रयोग गर्ने निर्णय भएको छ । साथै गाउपालिकाको कोरोना अस्पतालका लागि थप अक्सिजन सिलिण्डर खरिद गर्ने, स्वास्थ्यकर्मीलाई कामको आधारमा जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरिएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो । तिनाउ गाउपालिकाले संचालन गर्दै आएको कोरोना अस्पतालमा १० वेड रहेकोमा १८ वेड थप गरी २८ वेडको आइसोलेसन संचालन गर्ने निर्णय भएको छ । गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठका अनुसार विरामीको संख्या बढ्दै गएकोले १० वेड लाई बढाएर २८ वेडको आइसोलसेन तयार गर्ने निर्णय भएको छ । यो समाचार तयार पार्दा सम्म तिनाउ गाउपालिकामा ६९ जना सक्रिय संक्रमित रहेका छन् । जसमा ५ जना गाउपालिकाको कोरोना अस्पतालमा र अन्य केही अस्पताल र अधिकांश होम आइसोलेसनमा रहेका छन् ।