Share
  •   
  •  
  •  
  •  

पाल्पा जिल्लामा पर्ने सिद्धार्थ राजमार्ग विस्तारका क्रममा करिब ७ सय घर भत्किने भएका छन्। सिद्धार्थ राजमार्ग चार लेनमा विस्तार गर्दा सडक क्षेत्र अतिक्रमण गरी बनेका घरटहरा भत्किने भएको हो । चिडियाखोला रूपन्देहीदेखि राम्दी, पाल्पा क्षेत्रसम्म सडक सिमानाको २५ मिटरभित्र दायाँबायाँ बनेका पक्की तथा कच्ची गरी ७ सय घर भत्किने भएका हुन् जसमा करिब ४ सय पक्की घर छन् ।

यता वगनासकाली गाउँपालिकाको बैठकले जनताको लिखित माग अनुसारको सडक विभागलाइ पत्र लेख्ने निर्णय गरेको प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले बताउनुभयो । वगनाशकाली गाउँपालिकाले सडक विस्तार हुने जग्गामा अग्रिम चिन्ह लगाउनुपर्ने, केन्द्र, प्रदेश र स्थानीय सरकारसँग छलफल गर्नुपर्ने, उचित क्षतिपूर्ती दिनुपर्ने तथा वातावरणीय प्रभावलाइ ध्यान दिनुपर्ने जनाएको छ । गाउँपालिकाले सवारी चापका आधारमा मापदण्ड तयार गर्नुपर्ने, जग्गा खाली गराउने समय तोकिनुपर्ने, मुआब्जाको व्यवस्था गर्नुपर्ने भन्ने जनताको माग अनुसार सडक विभागलाइ पत्र लेखि पठाउने निर्णय भएको गाउँपालिका प्रवक्ता अधिकारीले बताउनुभयो ।

सिद्धार्थ राजमार्गको पाल्पा खण्डको अधिकांश सडक अतिक्रमण भएको छ। १० टन क्षमताका लागि निर्माण गरेको सडकमा अहिले २० देखि ३० टनसम्मका सवारीसाधन सञ्चालन हुँदै आएका छन्। तानसेन बुटवल सडकखण्डमा दैनिक २ हजारभन्दा बढी टिपरले करिब २० टनका हिसाबले चुनढुंगा ढुवानी गर्दै आएका छन्। यसका कारण सडक साँघुरो हुँदा एक घण्टामा यात्रा गर्न सकिने तानसेन–बुटवल सडक अहिले कम्तीमा पनि ३ घण्टा लाग्ने गरेको छ।

वगनकासकाली गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले भन्नुभयो, हामी विकासको विरोधी पनि होइन तर काम हुँदा सुरू क्षेत्रबाट हुनुपर्यो, जनताको कम क्षति हुने गरि विकास गरिनुपर्छ भन्ने गाउँपालिकाको बुझाइ रहेको छ । २०२५ सालमा बनेको सडकले त्यसभन्दा अगाडी बनेका घरहरूको पनि व्यवस्थापन गर्नुपर्छ । जग्गा, घर सबै जाने भएपछि जनताको उचित तरिकाले व्यवस्थापन गरिनुपर्छ । सिद्दबाबा नबनाउने तर जनतालाइ आतंकित पार्नुहुन्न भन्ने आम जनताको बुझाइ अनुसार हामिले पत्र लेख्ने निर्णय गरेका हौं । पाल्पामा सवारिको व्यवस्थापन गर्न मुख्यतः दोभान सिद्दबाबा क्षेत्रको बाटो विस्तार, सुरूङमार्ग वा वैकल्पिक सडक पहिले बनाइनुपर्ने गाउँपालिका अध्यक्ष बस्यालले बताए ।

डिभिजन सडक कार्यालय पाल्पाले सार्वजनिक सूचना प्रकाशित गरी सडकको दायाँबायाँ २५ मिटर क्षेत्रका भौतिक संरचना तत्काल आफैं हटाउन निर्देशन गरेको छ। डिभिजन सडक कार्यालय पाल्पाले बुटवलको चिडियाखोलादेखि पाल्पाको राम्दीसम्म सडकको दायाँबायाँ २५ मिटरभित्र पर्ने घरको तथ्यांक संकलन गरी हटाउने घरमा रातो पोतिसकेको र निर्माण भएका भौतिक संरचना हटाउन माइकिङ गरिएको छ ।