Share
  •   
  •  
  •  
  •  

पाल्पाः वगनासकालीका वालवालिकाले आफ्नै गाउँपालिकाको परिचय समेटिएको पाठ्यपुस्तक पढ्न पाउने भएका छन् । बगनासकाली गाउँ सरकारले निर्माण गरेको ‘हाम्रो बगनासकाली’नामक पाठ्यपुस्तक अव कक्षा १ का सबै विद्यार्थीहरुले पढ्न पाउने भएका हुन् । शुक्रबार एक कार्यक्रमका बिच गाउपालिकाले तयार गरेको पाठ्यपुस्तक सार्वजनिक गरिएको छ । गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरी सार्वजनिक गरेको हो ।
गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले ‘हाम्रो बगनासकाली’ पुस्तककोे लोकापर्ण गर्दै बालबालिकाले आफ्नो गाउँ–ठाउँ, कलासंस्कृति, भेषभुषा, सम्पदा, महत्वपूर्ण व्यक्तिको बारेमा जानकारी पाउँदा अपनत्व बढ्ने, भावनात्मक सम्बन्ध रहने, गाउँ ठाँउमै रहने वातावरणको विकास हुने बताउनुभयो । उहाँले पाठ्युपुस्तकलाई कार्यान्वयन गराउनु महत्वपूर्ण रहेको भन्दै यसका लागि शिक्षकहरुले तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष बस्यालले ‘गुणस्तरीय शिक्षा निर्माणमा शिक्षकहरुको महत्वपूर्ण भूमिका रहन्छ,त्यसैले शिक्षक इमान्दर र लगनशिल हुनुपर्ने बताउनुभयो ।
चालु शैक्षिक सत्रदेखि नै लागू गर्ने गरी गाउँपालिकाले पहिलो चरणमा कक्षा १ का लागि स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको हो । उक्त पाठ्यपुस्तक राष्ट्रिय पाठ्यक्रम २०७६ अनुसार कूल १०० पूर्णाङ्क र पाठ्भार ५ रहेको छ । यो पुस्तक कूल पाठ्यभारको २० प्रतिशतको हो ।
पाठ्यपुस्तक निर्माणका लागि गाउँपालिकाले शिक्षक दयाराज कंडेलको संयोजकत्वमा विज्ञ टिम बनाएको थियो । उक्त टिमले विभिन्न चरणमा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षासम्बद्ध सरोकारवाला लगायतसँग छलफल गरी पाठ्यपुस्तक तयार गरेको हो । गाउँपालिकाको भौगोलिक अवस्था,धार्मिक, पर्यटकीय, जनसंख्या, ऐतिहासिक पृष्ठभूमि, सामाजिक मूल्य–मान्यता लगायतका विषयवस्तु पाठ्यपुस्तकमा समेटिएका छन्  ।
आधारभूत तहको ८ सय पूर्णाड्ढमध्ये सय पूर्णाड्ढको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधान अनुसार गाउँपालिकाले कक्षा १ को पाठ्क्रममा आधारित पाठ्पुस्तक निर्माण गरेको हो । अनिवार्य र ऐच्छिक विषय बाहेक सय पूर्णाड्ढको स्थानीय पाठ्यक्रमको विषयवस्तु विद्यालयहरुले पढाउनुपर्नेछ । केन्द्रीय पाठ्यक्रम विकास केन्द्र काठमाडौंसँगको परामर्श तथा स्वीकृतिमा गाउँपालिकाले स्थानीय स्तरको पाठ्यक्रम तयार गरी पुस्तक निर्माण गरेको छ ।
गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले दक्ष र सीपयुक्त नागरिक उत्पादन गर्न स्थानीय पाठ्पुस्तकले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । शिक्षा शाखा प्रमुख गुनाराम खनालले शिक्षालाई उद्देश्यमूलक, व्यवहारिक र रोजगारमूलक बनाउन स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरिएको बताउनुभयो । पुस्तक निर्माणका संयोजक दयाराज कडेलले केन्द्रीय पाठ्यक्रममा मात्र केन्द्रित रहेका बालकालिकाहरुका लागि स्थानीय पाठ्यपुस्तक महत्वपूर्ण सावित हुने बताउनुभयो ।