Share
  •   
  •  
  •  
  •  

पाल्पा । बगनासकाली गाउँपालिकामा बसोवास गर्नेहरुले अव व्यवसाय संचालन गर्न विना धितो ऋण पाउने भएका छन् । गाउँपालिकामा कृषि तथा पशुपालन र अन्य स्वरोजगारमुलक ब्यवसाय गर्न चाहनेहरुले अव सस्तो ब्याजमा बिना धितो ऋण पाउने भएका हुन् ।
नेपाल बैंक लिमिटेड संगको सहकार्यमा बगनासकाली गाउँपालिकाले सहुलियतपुर्ण कर्जा उपलब्ध गराउन लागेको हो । यससम्बन्धी नेपाल बैंक लिमिटेड र गाउँपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मंगलवार वगनासकाली गाउँपालिका र नेपाल बैंक लिमिटेड वीच एक कार्यक्रमको आयोजना गरी ऋण प्रवाह सम्बन्धी सम्झौता भएको छ । सम्झौता हस्ताक्षरमा वगनासकाली गाउपालिकाको तर्फबाट अध्यक्ष कृष्ण प्रसाद बस्याल र नेपाल वैंक लिमिटेडको तर्फबाट लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख पासाङ दोर्जे शेर्पाले सम्झौतापत्रमा हस्तारक्षर गर्नुभएको छ ।


कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बिदेशबाट फर्केका वा नेपालमै रहेर पनि ब्यवसाय गर्न चाहने ब्यक्तिहरुले यसबाट लाभ लिन सक्ने बताउनुभयो । ऋण लिन चाहने ब्यक्तिले धितो समेत राख्नु पर्दैन । अध्यक्ष बस्यालले यो कार्यक्रमका लागि २ करोड सम्म ऋण प्रवाह गर्न सकिने बताउनुभयो ।
बैंकका प्रमुख पासाङ दोर्जे शेर्पाले यो कार्यक्रमले महिला र बिदेशबाट फर्केका युवाहरुलाई बढी प्राथमिकता दिने बताउनुभयो । ऋण लिई ब्यवसाय लिन चाहने ब्यक्तिलाई सहज रुपमा बिना झन्झट ऋण उपलब्ध गराइने समेत उहाको भनाइ छ । यसका लागि महिला उद्यमीले बार्षिक २.१८ प्रतिशत र अन्य उद्यमीले बार्षिक ३.८१ प्रतिशत मात्रै ब्याज तिर्नुपर्ने जानकारी दिनुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदी दर्लामीले अधिकांश युवाहरु बैदेशिक रोजगारीमा रहेको र उनीहरुका परिवार समेत छोराछोरी पढाउने वा अन्य बाहनामा शहर पस्ने क्रम बढ्दै गएकोले बैदेशिक रोजगारीमा गएर फर्केका युवाहरुलाई स्वदेशमै उद्यमशील बनाउन यो कार्यक्रम बढी प्रभावकारी हुने बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेले बैंक र गाउँपालिका बीच भएका सम्झौताका बुदाहरुबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा बैंकका पाल्पा शाखा प्रमुख सुरज घिमिरे गाउँपालिकाका कर्मचारी लगायत जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मणिराम अधिकारीको संचालनमा चलेको थियो ।